काठमाडौं । राष्ट्रिय आर्थिक गणना–२०८२ लाई प्रभावकारी, विश्वसनीय तथा सहभागितामूलक बनाउन निजी क्षेत्रसँग सहकार्यलाई तीव्र पार्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल मदिरा व्यवसायी महासंघको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम मगलबार महासंघको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न राष्ट्रिय आर्थिक गणना अत्यन्त महत्वपूर्ण आधार हुने बताएका छन् ।

कार्यक्रममा व्यवसायी प्रतिनिधिहरूले आर्थिक गणनाका क्रममा सङ्कलन गरिने विवरणको गोपनीयता, तथ्याङ्कको प्रयोग तथा व्यवसायिक सुरक्षाबारे जिज्ञासा राखेका थिए । विशेषगरी मदिरा व्यवसाय संवेदनशील क्षेत्रसँग सम्बन्धित भएकाले व्यवसायीहरूले आफूहरूले उपलब्ध गराउने विवरण सार्वजनिक हुने वा अन्य प्रयोजनमा प्रयोग हुनेमा उनीहरुकोआशंका रहेको थियो ।
महासंघका अध्यक्ष सोनाम शेर्पाले सही र विश्वसनीय तथ्याङ्क सङ्कलनका लागि व्यवसायी समुदायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिनु भएको थियो । उहाँले आर्थिक गणनालाई सफल बनाउन सम्पूर्ण मदिरा व्यवसायीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त समेत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक डा. बेद प्रसाद ढकालले व्यवसायीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै आर्थिक गणनाका क्रममा सङ्कलित सम्पूर्ण तथ्याङ्क कानुनी रूपमा पूर्ण गोप्य रहने स्पष्ट पार्नु भयो । कार्यक्रममा उहाँले तथ्याङ्क ऐनअनुसार व्यक्तिगत वा संस्थागत विवरण कुनै पनि अवस्थामा सार्वजनिक नगरिने जानकारी गराउँदै राष्ट्रिय आर्थिक गणना राष्ट्रिय योजना निर्माण, आर्थिक नीति तर्जुमा तथा विकास रणनीति निर्धारणका लागि अत्यन्त आवश्यक आधार हुने बताउनु भयो ।
निर्देशक ढकालले निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यबिना राष्ट्रिय आर्थिक गणना सफल हुन नसक्ने उल्लेख गर्दै नेपाल मदिरा व्यवसायी महासंघ जस्ता संगठित संस्थासँग सहकार्य विस्तार गर्न राष्ट्रिय तथ्याङ्क कार्यालय इच्छुक रहेको बताउनु भयो । उहाँले विश्वसनीय तथ्याङ्कले मुलुकको आर्थिक संरचना, रोजगारी, उत्पादन, सेवा तथा लगानीको वास्तविक अवस्था उजागर गर्ने भएकाले सबै व्यवसायीलाई निडर भएर गणनामा सहभागी हुन आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल मदिरा व्यवसायी संघका पदाधिकारीहरु, मदिरा व्यवसायी संघ ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुसहित करिब २५ जना भन्दा बढि मदिरा ब्यवसायीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले व्यवसायिक वातावरण सुधार, नीति निर्माण तथा आर्थिक योजनाको प्रभावकारिता बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका महासचिव गोबिन्द प्रसाद बरालले स्वागत मन्तव्य र तथ्याङ्क अधिकृत दीनानाथ लम्सालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । तथ्याङ्क कार्यालयका निर्देशक डा. ढकालले राष्ट्रिय आर्थिक गणना–२०८२ को उद्देश्यका सम्बन्धमा कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

