काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघ ले नक्कली मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष सोनाम शेर्पा द्वारा जारी प्रेस विज्ञप्तिमा गोदाममा छापा मारेर ठूलो परिमाणमा नक्कली मदिरा बरामद गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा मदिरा ऐन २०३१ तथा अन्य प्रचलित कानुन विपरीत इजाजतपत्र बिना मदिरा उत्पादन गर्नु गम्भीर अपराध भएको जनाइएको छ। यस्ता नक्कली मदिराले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने, ज्यानसमेत जोखिममा पर्न सक्ने तथा राज्यको राजस्वमा क्षति पुग्ने महासंघले जनाएको छ।
महासंघले केही समूहले नक्कली स्टिकर प्रयोग गरी अवैध रूपमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको भन्दै यसले वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई समेत ठूलो क्षति पुगेको उल्लेख गरेको छ। विज्ञप्तिमा यस्तो गतिविधि संगठित अपराधअन्तर्गत पर्ने भन्दै दोषीलाई कडा सजाय दिनुपर्ने माग गरिएको छ।
महासंघका अनुसार यस्ता कार्यहरू मुलुकी अपराध संहिता २०७४, कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, खाद्य ऐन २०२३ तथा अन्तःशुल्क ऐन २०५८ विपरीत रहेका छन्।
महासंघले पटक–पटक यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ पर्दै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको उल्लेख गर्दै सम्बन्धित निकायलाई अनुसन्धान थप प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै दोषीको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न पनि महासंघले माग गरेको छ।


