नेपालमा बर्षेनी १८ अर्ब ३० करोडको मदिरा भित्रिन्छ

काठमाडौँ – कृषि विकास मन्त्रालयले बर्षेनी १८ अर्ब भन्दा बढि रकमको मदिरा वाहिरि देशबाट आयत हुने तथ्याङक सार्वजनिक गरेको छ । गत आर्थिक बर्षमा मदिराजन्य पदार्थमा १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

‘२५ अर्बको चामल र १८ अर्बभन्दा बढिको मदिरा आयात हुन्छ’ कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले भने ‘ चामलभन्दा मदिराजन्य पदार्थ रु छ अर्ब ६९ करोड १५ लाख अर्थात् ३६ दशमलव शून्य ५४ प्रतिशतले मात्र कम छ ।’ वैदेशिक रोजगारबाट फर्किएका नेपालीले उपहार साथमा ल्याएको एक लिटर मदिराजन्य पदार्थको समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुने अनुमान गरिएको छ ।

विश्वका ८० भन्दा बढी देशमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाखभन्दा बढी छ । रोजगारबाट फर्किआउँदा एक लिटर मदिराजन्य पदार्थको भन्सार नलिएको राजु हुमागाईले बताए । कुल एक करोड २४ लाख २० हजार ८०५ लिटर मदिराजन्य पदार्थ आयात भएको छ । लिटरलाई आधार मान्दा सबभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, खाद्यान्नमा प्रयोग हुने तेलपछि मदिराजन्य पदार्थ तेस्रो हो ।

भन्सार विभाग, त्रिपुरेश्वरले प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २९ देशबाट तयारी मदिराजन्य पदार्थ  आयात भएको उल्लेख छ । आयात भएको उक्त पेय पदार्थमा बियर, वाइन, ह्विस्की, रम, जिन र भोड्का हुन् ।

सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ । यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ ।

यसैगरी अमेरिकाबाट ५५ हजार ५४३ लिटर, इटलीबाट ५१ हजार ८०१, चिलीबाट ४७ हजार ९७०, दक्षिण कोरियाबाट ४१ हजार ७५८, स्विडेनबाट ३८ हजार ४८८, चीनबाट ३७ हजार १७९, सिङ्गापुर २९ हजार ४४५, बेल्जियम २३ हजार ६५२, पोल्यान्ड २० हजार ८३, मेक्सिको १५ हजार ७५३, प्रोचुगल १३ हजार १४९, नेदरल्यान्ड १२ हजार ११ र आयरल्यान्डबाट ११ हजार ५५४ लिटर आयात भएको छ ।

त्यसैगरी अर्जेन्टिनाबाट छ हजार २०८ लिटर, जर्मनीबाट दुई हजार ७७२, स्विजरल्यान्डबाट एक हजार ३८२, साउदी अरबबाट एक हजार २०, जापानबाट ९६९, क्यूवाबाट १८०, न्यूजिल्यान्डबाट १०४, गणतन्त्र कोरियाबाट ९२, ब्राजिलबाट ४२ र फिलिपिन्सबाट १३ लिटर मदिराजन्य पदार्थ आयात भएको छ ।

अधिकांश स्थानबाट आयात भएको मदिराजन्य पदार्थमा वाइनको मात्रा बढी छ । नेपालमा आयातित वाइन अङ्गुरबाट निर्मित देखिन्छ । जसमा रक्सीको मात्रा १२ देखि १७ प्रतिशतसम्म छ । वाइनको आयातलाई प्रतिस्थापन गर्न स्वदेशमा स्तरीय वाइन कारखाना निर्माण हुन सक्नु हो भन्नुहुन्छ ‘एक गाउँ एक उत्पादन केन्द्र’का संयोजक दिलसुन्दर श्रेष्ठ । व्यावसायिक रुपमा जुम्लाको स्याउ, मकवानपुरको किबी, चितवनको केराबाट वाइन उत्पादन गर्न सकिन्छ तर त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

नेपालमा चाडपर्वमा अनिवार्य रक्सी पिउने सोचका कारणले मदिराजन्य पदार्थको आयात बढेको अनुमान गर्न सकिन्छ । दसैँ, तिहार, छट, इद, लोसारलगायतका विभिन्न भोजमा रक्सी पिउने संस्कृति मौलाउँदै गएको पाइन्छ । मेडिकल डाक्टर रक्सीलाई औषधिका रुपमा सेवन गर्दा मात्र स्वास्थ्यलाई फाइदा पुग्ने बताउँछन् । डा प्रकाशराज रेग्मी निरोगी व्यक्तिले औषधिका रुपमा  बियर ६० मिलीलिटर, वाइन ३० मिलीलिटर र ह्विस्की १० मिलीलिटर फलफूलसँग खाँदा शरीरलाई बेफाइदा नहुने बताए ।

Share This On:

Leave a Reply