काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा जनजीवन प्रभावित हुनुका साथै ठूलो धनजनको क्षति भएको घटनाप्रति नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
बाढीका कारण विभिन्न जिल्लाका नदी तथा खोलानजिकका बस्ती, सडक, पुल, व्यवसायिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।कतिपय स्थानमा मानिसहरू विस्थापित भएका छन् भने कतिपय नागरिक सम्पर्कविहीन रहेको र उनीहरूको खोजी तथा उद्धारको आवश्यकता रहेको अवस्था छ।प्राकृतिक विपद्का कारण सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै व्यवसायी तथा श्रमिक वर्गले समेत क्षति व्यहोर्नुपरेको छ।
नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष शेर्पाले विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत बाढी प्रभावित जिल्लामा रहेका मदिरा व्यवसायी, व्यवसायमा कार्यरत श्रमिक, उनीहरूका परिवार तथा आम नागरिकले मानवीय सहयोग गर्नुपर्ने बताउनु भएको छ।
उहाँले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणको कार्यलाई तीव्रता दिन सरकार, स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ।
अध्यक्ष शेर्पाले “भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा भएको जनधनको क्षतिले हामी अत्यन्त दुःखी भएका छौँ। विपद्को यस कठिन घडीमा प्रभावित सम्पूर्ण नागरिक, व्यवसायी तथा श्रमिक दाजुभाइ–दिदीबहिनीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौँ। सम्पर्कविहीन तथा जोखिममा रहेका नागरिकको तत्काल खोज तथा उद्धार गरी सुरक्षित स्थानमा पुर्याउन सम्बन्धित निकायको विशेष ध्यान जान आवश्यक छ,” भन्नुभएको छ।
अध्यक्ष शेर्पाले बाढी प्रभावित क्षेत्रमा अझै जोखिम हुन सक्ने भएकाले नदी तथा खोलाको आसपासमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ जान आग्रह गर्नुभएको छ।उहाँले स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशनलाई पालना गर्न समेत सबैलाई अनुरोध गर्नुभएको छ।
बाढीले व्यवसायिक क्षेत्रमा समेत ठूलो असर पुर्याएको भन्दै महासंघले प्रभावित मदिरा व्यवसायीहरु संयम भएर एक अर्कालाई सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
महासंघ अध्यक्ष शेर्पाले विपद्को समयमा व्यवसायी मात्र नभई सम्पूर्ण नागरिकको जीवनरक्षा सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै व्यवसायिक क्षेत्र पनि सामाजिक उत्तरदायित्वका साथ उद्धार तथा राहत कार्यमा सहकार्य गर्न अनुरोध गर्दै उहाँले नेपाल मदिरा व्यवसायी महासंघसँग आबद्ध देशभरका व्यवसायी तथा सदस्यहरूलाई समेत आफ्नो क्षेत्रमा बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिन र स्थानीय आवश्यकता तथा आफ्नो क्षमताअनुसार मानवीय सहयोग तथा राहत कार्यमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।
यसैबीच, बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन, बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार, विस्थापितको व्यवस्थापन र प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।
महासंघले विपद्को यस घडीमा सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, व्यवसायिक संघसंस्था, सामाजिक अभियन्ता र आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ।
अध्यक्ष शेर्पाले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित सबैप्रति शीघ्र स्वास्थ्यलाभ तथा सुरक्षित जीवनको कामना गर्नुभएको छ। साथै, सम्पर्कविहीन तथा जोखिममा रहेका सबै नागरिकको सकुशल उद्धार होस् भन्ने कामना गर्दै विपद्को सामना गर्न राज्यका सबै संयन्त्र र नागरिक समाजबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ।

