मदिरा ब्यवसायीहरुले राज्यले आफुहरुलाई सकारात्म ब्यबहार नगरेको बताएका छन । मदिरा व्यवसाय राज्यको नीति, नियम बमोजिम संचालन गरिएको भए पनि राज्यले आफुहरु प्रति नकरात्मक ब्यबहार गरिरहेको भन्दै ब्यबसायीहरुले गुनासो गरेका हुन । धरान मदिरा व्यवसायी संघको शनिबार आयोजित ८ औं साधारणसभाको उद्घाटन समारोहका अतिथि वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । राज्यको नीति नियम भित्र रहेर संचालन भएका व्यवसायीहरुलाई राज्यले गर्ने व्यवहारमा परिवर्तन आउनुपर्ने ब्यबसायीहरुले बताएका छन् ।

मर्यादित व्यवसायी निर्माणमा महासंघ प्रतिवद्ध छ –अध्यक्ष शेर्पा
मदिरा व्यवसायलाई ब्यबस्थित र मर्यादित बनाउन महासंघ लागि परेको नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष शोनाम शेर्पाले बताउनु भएको छ । अध्यक्ष शेर्पाले मदिरा ब्यबसायीलाई मर्यादित बनाउन महासघं सधै प्रतिवद्ध भएको बताउनु भयो । मदिरा ब्यवसायीहरुको दिगो विकासका लागि महासंघले सबै ब्यबसायीहरुको हक, हित र अधिकारको प्रवद्र्धन गर्न निः शुल्क कानुन सेवाको संचालन गरेको, आफ्नै मिडियाको संचालन भएको, बजार ब्यबस्थापनका लागि सबै सरोकारवालासंग नियमित छलफल र समन्वय गर्ने संस्थागत संरचना तयार भएको र केन्द्रिय कार्यालयको भवन निर्माण लगायतका कामहरु सम्पन्न भएको र आगामी दिनमा समेत ब्यबसायीक प्रर्वद्धनका लागि थप कार्य गरिने बताउनु भयो ।

यस्तै कार्यक्रममा अध्यक्ष शेर्पाले मदिरा व्यवसायीलाई राज्यका निकायहरुले हेर्ने दृष्टिकोण नै गलत रहेको बताउदै । राज्यका निकायहरुबाट व्यवसायीहरुलाई दुःख दिइरहेको कारण संघले नै कानुनी उपचारको लागि २ जना कानुन ब्यबसायी राखेर ब्यबसायीहरुलाई निःशुल्क कानुनी सेवा प्रदान गरिरहेको जानकारी दिनु भयो । ‘मदिरा व्यवसायीलाई पनि अन्य व्यवसायीलाई जस्तै सम्मान होस् भन्ने हामी चाहन्छौ,’अध्यक्ष शेर्पाले भन्नु भयो,‘मदिरा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै गलत छ, त्यो परिवर्तन हुनुपर्छ ।’ अध्यक्ष शेर्पाले मदिरा व्यवसाय शुरु गर्दा बुझेर मात्र गर्न समेत सबैलाई आग्रह गर्नु भएको छ । कसैको उक्साहटमा व्यवसायमा हात नहाल्न पनि उहाँले सुझाव दिनु भयो ।
मदिरा व्यवसायीहरुको समस्या हल गर्न अनुगमन तथा समस्या निराकरण समिति : उपाध्यक्ष श्रेष्ठ
महासंघका केन्द्रीय उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले मदिरा व्यवसायीहरुको समस्या हल गर्न महासंघका प्रतिनिधि, उत्पादकहरुको प्रतिनिधि, जिल्लाका प्रतिनिधिहरु समेटेर अनुगमन तथा समस्या निराकरण समिति बनाएको जानकारी दिनु भयो । उहाँले सबै पक्षको सहकार्यमा ब्यबसायीक क्षेत्रमा देखिएको लगानीको जोखिम न्युनीकरण गर्न लाग्नु पर्ने पनि बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपाल मदिरा महासंघ ब्यवसायीहरुको हक, हित र अधिकारका लागि सधै काम गरिरहेको र यसका लागि धेरै कामहरु पनि महासंघबाट भै सकेको बताउदै थप कामहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा संचालन हुने समेत बताउनु भयो ।
राज्यबाट सकारात्मक ब्यवहारको अपिक्षा : ब्यवसायी
संघका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अन्य व्यवसायीलाई भन्दा मदिरा र सुर्तिजन्य व्यवसायीलाई राज्यले अलग रुपमा हेर्ने र व्यवसायीहरुले दुःख पाइरहेको बताउदै ‘मदिरा र सुर्तिजन्य कुरा आवश्यक छैन भने राज्यले उत्पादन बन्द गरोस्, हामी अर्को व्यवसाय गर्न तयार छौ । तर, निती नियम अनुसार संचालन भएका र नियमित कर तिरेका ब्यबसायीहरुलाई किन दुःख दिइरहने ?’ उहाँले भन्नु भयो कम्पनीले डिष्ट्रीब्युटरलाई भन्दा ठुला डिपार्टमेन्ट स्टोर, सुपरमार्टहरुलाई धेरै प्रतिशत छुट दिने, ६ महिना सम्म उदारो दिने गरेकोले मदिरा व्यवसायीहरु थप समस्यामा परेको बताउनु भयो ।
लेखा प्रणालीबारे पुर्णरुपमा सचेत हुनुपर्ने : सिईओ
कार्यक्रममा मितेरी डेभलपमेन्ट बैंकका सिईओ तुलसी प्रसाद वस्तीले व्यवसाय शुरु गरेपछि लेखा प्रणालीबारे पुर्णरुपमा सचेत हुनुपर्ने बताउनु भयो । उहाँले व्यवसाय शुरु गरेपछि खरिद बिक्रीमा मात्र सिमित रहन नहुने भन्दै सिईओ वस्तीले संघले आफ्ना सदस्यहरुलाई लेखा प्रणालीबारे सुसुचित गराउन आग्रह पनि गर्न भयो ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, मदिरा व्यवसायी संघका सल्लाहकार मनोज श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संघका सचिव प्रदिप श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष जिना राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

उत्कृष्ट तीन जनालाई सम्मान
संघले एक पत्रकार सहित ३ जनालाई सम्मान गरेको छ । साधारणसभाको अवसरमा क्लिकधरानका प्रधान सम्पादक आर.के.राईलाई नगद १० हजार सहित सम्मान गरेको हो ।
यसै गरि, अग्रज व्यवसायी सुनिल श्रेष्ठलाई पनि संघले सम्मान गरेको छ भने गोर्खा र्बोअरीका कम्पनीका प्रतिनिधि कृष्ण अधिकारीलाई पनि सम्मान गरेको छ ।

सोही कार्यक्रममा उत्कृष्ट कम्पनीको रुपमा गोर्खा र्बोअरी प्रा.लि (प्रथम), सि.जि.र्बोअरी प्रा.लि (दोस्रो) र टाइगर र्बोअरी प्रा.लि (तेस्रो) घोषित गरिएको थियो । धरान मदिरा संघका अध्यक्ष नविन लामा, प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।

