नेपाल मदिरा व्यवसायी महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता बैशाख ५ गते हुने भएको छ । महासंघको कार्यसमिति बैठकले विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क तोकेको छ । अध्यक्षको लागि एक लाख रुपाैया तोकिएकाे छ भने उपाध्यक्ष र महासचिवका लागि पचहत्तर हजार,कोषाध्यक्ष, सचिव र सह-कोषाध्यक्ष पदका लागि पचास हजार शुल्क तोकिएको छ यसैगरि केन्द्रिय सदस्यका लागि पच्चीस हजार शुल्क तोकिएको महासंघले जनाएको छ । महासंघको प्रदेश कार्यसमिति तर्फ अध्यक्षको उम्मेदवारी दर्ता शुल्क पचास हजार रुपौया तोकिएकाे छ । उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि पच्चीस हजार रुपौया तोकिएको हो ।
नेपाल मदिरा व्यवसायी महासंघको आगामी नयाँ नेतृत्व चयनका लागि बैशाख ४ गते देखि निर्वाचनका कार्यक्रमहरु सुरु हुने भएको छ । निर्वाचन समितिका अनुसार बैशाख ४ गते विहान १० वजे मतदाता नामावली प्रकाशन, सोहि दिन दिउसो १ वजे सम्म मतदाता नामावली उपर दावी विरोध र बेलुकी ५ वजे मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
यस्तै बैशाख ५ गते विहान १० वजे देखि दिउसो २ वजे सम्म उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । सोहि दिन बेलुकी ४ वजे सम्म उम्मेदवारीहरुको दावी विरोध गर्ने समय तोकिएको छ भने बेलुकी ५ वजे सम्म उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने समय तोकिएको छ । बेलुकी ५ वजे पछि मात्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान भने बैशाख ९ गते उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मात्र हुने भएको छ ।
महासंघको साधारण सभा तथा अबिधेशनमा सहभागि हुने प्रतिनिधीहरुका लागि बैशाख ८ र ९ गतेका लागि आवासिय सुविधा उपलब्ध गराएको छ भने निर्वाचनमा मनोनयन दर्ता लगायतका कार्यक्रममा सहभागि हुन काठमान्डौ आउने मदिरा व्यवसायीहरुले भने अन्य दिनको सबै आवासिय व्यवस्था आफैले गर्नुपर्ने महासंघले जनाएको छ ।

