हुम्ला- हुम्ला प्रहरीले ठूलो मात्रामा अबैध चिनियाँ मदिरा बरामद गरेको छ। नाम्खा गाउँपालिका- ३ लामा खोल्सीस्थित एक घरको गोठमा लुकाइ राखिएको अवस्थामा उक्त मदिरा फेला परेको हो।

प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार करिब रु २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा बरामद गरिएको हो। नाम्खा गाउँपालिका- ३ का स्थानीय गेला लामाको घरको गोठमा लुकाइ राखिएको सो मदिरा प्रहरीले गोप्य सूचनाको आधारमा फेला पारेको हो।
बरामद गरिएको मदिरा १३४ बोरामा राखिएको ४०२ कार्टुनमा रहेको बताइएको छ। ती कार्टुनमा जम्मा ४,८२४ बोतल मदिरा रहेको र बजार मूल्य अनुसार प्रति बोतल रु ५०० पर्ने जनाइएको छ।
प्रहरीले शुक्रबार राति सो मदिरा बरामद गरी शनिबार राति मात्र जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो। घरधनी उपस्थित नभएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले करिब १२ घण्टासम्म सो घर घेराबन्दीमा राखेको थियो।
बरामद मदिरा व्यापारी इलुङ लामाको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उक्त कार्यमा राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल र प्रहरी निरीक्षक विष्णुबहादुर श्रेष्ठको समेत सहभागिता रहेको थियो।
यसअघि पनि कात्तिक १८ गते सोही गाउँपालिका- २ डाँडकेर्मीबाट प्रहरीले ३५१ कार्टुन चिनियाँ मदिरा बरामद गरेको थियो, जसको मूल्य करिब रु २१ लाख ६ हजार पर्ने जनाइएको छ।

